विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण वीरगञ्ज : बुधबार राति एक्कासि विद्युत् आपूर्ति अवरुद्ध भएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा सिर्जना भएको खानेपानी समस्यालाई मध्यनजर गर्दै महानगरले रात्रिकालीन पानी वितरणको व्यवस्था मिलाएको छ। वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष पहल र निर्देशनमा राति नै बस्ती–बस्तीमा खानेपानी पुर्याइएपछि नगरवासीले ठूलो राहत महसुस गरेका छन्।बुधबार दिउँसो ३ बजे को समय मा अचानक बिजुली गएपछि वीरगञ्जका अधिकांश वडामा पानी तान्न नसक्दा खानेपानीको चरम अभाव भएको थियो। गर्मीको समय र त्यसमाथि पिउने पानीकै हाहाकार मच्चिएपछि स्थानीयवासी निकै मर्कामा परेका थिए। विद्युत् नहुँदा महानगरभित्रका धाराहरूमा पानी आउन छाडेको थियो भने घरमा जडान गरिएका मोटरहरू पनि चल्न सकेका थिएनन्।
नागरिकहरूको गुनासो र पानीको अभावले निम्त्याएको आकस्मिक परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले तत्कालै कदम चालेका थिए। उनले राति नै महानगरपालिकाका पानी ट्याङ्करहरू परिचालन गरी खानेपानी वितरण गर्ने व्यवस्था मिलाएका हुन्। कार्यवाहक नगरप्रमुख आलम स्वयंको निगरानीमा खटिएको टोलीले राति अबेरसम्म खानेपानीको अभाव भएका विभिन्न टोल र बस्तीहरूमा पुगेर सुरक्षित पानी वितरण गरेको थियो।पानीको अभावमा तड्पिएका स्थानीयवासीले मध्यरातमा घरदैलोमै पानीको ट्याङ्कर पुगेपछि खुसी व्यक्त गरेका छन्। आकस्मिक परिस्थितिमा महानगरले देखाएको तत्परता र नेतृत्वको स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन्।स्थानीयवासीहरूले भने, "हामीले राति पिउने पानीसमेत नपाएर काकाकुल हुनुपर्ने अवस्था सिर्जना भइसकेको थियो, तर महानगरपालिकाले हाम्रो मर्का बुझेर राति नै पानी ल्याइदिँदा धेरै ठूलो राहत मिलेको छ। जनप्रतिनिधि हुनु भनेको यस्तै दुःखको बेला साथ दिनु हो।"
यस विषयमा महानगरपालिकाले आगामी दिनमा पनि यस्ता आकस्मिक वा प्राकृतिक समस्या आउँदा नागरिकको सेवामा अहोरात्र खटिने प्रतिबद्धता जनाएको छ। कार्यवाहक नगरप्रमुख आलमले जनताको आधारभूत आवश्यकता पूरा गर्नु महानगरको पहिलो दायित्व रहेको बताउँदै, विपद् र अप्ठ्यारो परिस्थितिमा महानगर सधैँ नगरवासीको साथमा रहने स्पष्ट पारेका छन्।
विद्युत् आपूर्ति पूर्ण रूपमा सहज नहुन्जेलसम्म आवश्यक परेको खण्डमा थप वैकल्पिक व्यवस्थासमेत गरेर पानी वितरणलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ।

COMMENTS