PABSON र वीरगञ्ज न्यूरो एण्ड जनरल अस्पतालबीच स्वास्थ्य उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता
वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (PABSON) पर्सा जिल्ला समिति, वीरगञ्ज महानगर समिति र वीरगञ्ज न्यूरो एण्ड जनरल अस्पताल रिसर्च सेन्टर प्रा.लि.बीच विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा १५ प्रतिशत सहुलियत उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
२०८३ साल भदौ ४ गते वीरगञ्जमा सम्पन्न सम्झौताअनुसार PABSON अन्तर्गत आबद्ध निजी तथा आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थी, उनीहरूका अभिभावक, सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक तथा प्रशासनिक एवं अन्य कर्मचारीले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवामा तोकिएको सहुलियत प्राप्त गर्नेछन्।
सम्झौताको मुख्य उद्देश्य विद्यालयसँग आबद्ध विद्यार्थी तथा कर्मचारीको स्वास्थ्य संरक्षण, उपचारमा सहज पहुँच तथा स्वास्थ्य सेवामा लाग्ने आर्थिक भारलाई केही हदसम्म न्यूनीकरण गर्नु रहेको जनाइएको छ। यसका साथै स्वास्थ्य चेतना, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर तथा आवश्यक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा समेत सहकार्य गर्ने सहमति भएको छ।
सम्झौताअनुसार सहुलियत प्राप्त गर्ने लाभग्राहीमा PABSON अन्तर्गत आबद्ध विद्यालयमा अध्ययनरत विद्यार्थी, त्यस्ता विद्यार्थीका बाबु–आमा वा कानुनी अभिभावक, सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक तथा प्रशासनिक एवं अन्य कर्मचारी रहनेछन्।
लाभग्राहीले सहुलियत लिन विद्यालयबाट जारी परिचयपत्र तथा आवश्यक प्रमाणपत्र वा सिफारिसपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ। विद्यार्थीका अभिभावकले सम्बन्धित विद्यार्थीको परिचयपत्र तथा विद्यालयबाट जारी सिफारिसपत्र पेश गर्नुपर्नेछ। आवश्यक प्रमाणिकरण पूरा भएपछि अस्पतालले सम्झौताअनुसारको सहुलियत उपलब्ध गराउनेछ।
सम्झौतामा अस्पतालबाट उपलब्ध हुने बहिरङ्ग विशेषज्ञ सेवा, आकस्मिक तथा सघन उपचार सेवा, अन्तरङ्ग सेवा तथा प्रयोगशाला र औषधालयसम्बन्धी सेवाहरू समेटिएका छन्। अस्पतालले न्युरोलोजी, न्युरोसर्जरी, फिजिसियन तथा आन्तरिक चिकित्सा, हाडजोर्नी तथा अर्थोपेडिक्स, सामान्य शल्यक्रिया, मनोरोग तथा मानसिक स्वास्थ्य, स्त्रीरोग तथा प्रसूति, बालरोग तथा नवजात शिशु, नाक–कान–घाँटी, दन्त तथा मुख स्वास्थ्य र नेत्ररोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउने उल्लेख छ।
त्यस्तै, २४ घण्टा आकस्मिक सेवा, आईसीयू, जनरल आईसीयू, एनआईसीयू, भेन्टिलेटर सुविधा तथा शल्यक्रियापश्चात् उपचार एवं निगरानीको व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ। अस्पतालको अन्तरङ्ग सेवाअन्तर्गत सामान्य वार्ड, शल्यक्रियापश्चात् वार्ड, क्याबिन, विशेष क्याबिन तथा नवजात सघन उपचार कक्षको सुविधा रहनेछ।
प्रयोगशाला तथा औषधालयतर्फ २४ घण्टा प्रयोगशाला सेवा, २४ घण्टा औषधालय सेवा, नियमित प्रयोगशाला परीक्षण तथा विशेष प्रयोगशाला परीक्षणको सुविधा उपलब्ध हुने सम्झौतामा उल्लेख छ।
सम्झौताअनुसार योग्य लाभग्राहीलाई अस्पतालको प्रचलित तथा लागू शुल्कमा १५ प्रतिशत सहुलियत प्रदान गरिनेछ। औषधि, प्रत्यारोपण सामग्री, विशेष शल्यक्रिया सामग्री, बाह्य स्रोतबाट खरिद गर्नुपर्ने सामग्री तथा अन्य विशेष खर्चमा भने अस्पतालको प्रचलित नीति र पक्षहरूबीचको लिखित सहमतिअनुसार छुट लागू हुने वा नहुने व्यवस्था गरिएको छ।
लाभग्राहीले १५ प्रतिशत सहुलियत प्राप्त गरेपछि बाँकी रकम अस्पतालमा स्वयं भुक्तानी गर्नुपर्नेछ। सम्झौताले PABSON वा आबद्ध विद्यालयलाई लाभग्राहीको उपचार खर्च अनिवार्य रूपमा व्यहोर्नुपर्ने आर्थिक दायित्व सिर्जना नगर्ने स्पष्ट व्यवस्था गरेको छ।
सम्झौतामा आकस्मिक उपचारलाई प्राथमिकता दिने व्यवस्था पनि गरिएको छ। आकस्मिक अवस्थामा परिचयपत्र वा सिफारिसपत्र तत्काल उपलब्ध नभए पनि आवश्यक उपचारमा अनावश्यक ढिलाइ नगर्ने र उपचारपछि लाभग्राहीको पात्रता प्रमाणित भएमा सम्झौताअनुसार सहुलियत समायोजन गर्न सकिने उल्लेख छ।
यसैगरी, विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीका लागि स्वास्थ्य परीक्षण, विशेषज्ञ स्वास्थ्य शिविर, स्वास्थ्य चेतना तथा प्राथमिक उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने सहमति भएको छ। यस्ता कार्यक्रमको मिति, स्थान, जनशक्ति, सेवा तथा खर्चसम्बन्धी व्यवस्था पक्षहरूको आपसी सहमतिमा तय गरिनेछ।
सम्झौतामा लाभग्राहीको व्यक्तिगत विवरण तथा चिकित्सकीय अभिलेखको गोपनीयता प्रचलित कानुन तथा चिकित्सा नैतिकताअनुसार कायम गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
सम्झौता एक वर्षका लागि लागू हुने र दुवै पक्षको लिखित सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। सम्झौताको कार्यान्वयन, लाभग्राहीको संख्या, सहुलियत, सेवा तथा अन्य विषय आवश्यकताअनुसार संयुक्त रूपमा पुनरावलोकन गर्न सकिनेछ। कुनै पनि दफा, शर्त, सहुलियतको दर वा अनुसूचीमा परिवर्तन गर्न दुवै पक्षको लिखित सहमति आवश्यक पर्नेछ।
सम्झौता अन्त्य गर्न चाहने पक्षले अर्को पक्षलाई कम्तीमा ३० दिनअघि लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ। सम्झौताको गम्भीर उल्लङ्घन, सहुलियत सुविधाको दुरुपयोग वा अन्य उचित कारण उत्पन्न भएमा आपसी सहमति तथा प्रचलित कानुनबमोजिम सम्झौता समाप्त गर्न सकिने उल्लेख छ।
सम्झौता कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा पहिलो चरणमा दुवै पक्षबीच छलफल र संवादमार्फत समाधान खोजिने तथा त्यसबाट समाधान हुन नसके प्रचलित नेपाली कानुनबमोजिम सक्षम निकायबाट विवाद समाधान गरिने व्यवस्था गरिएको छ।
सम्झौतापत्रमा PABSON पर्सा जिल्ला कार्य समितिका अध्यक्ष सरोज प्रसाद चौधरी, PABSON वीरगञ्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तव तथा वीरगञ्ज न्यूरो एण्ड जनरल अस्पताल रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष डा. श्याम बाबु प्रसाद र प्रबन्धक सुमन कार्की तथा प्याप्सनका केन्द्रीय प्रागिक सदस्य डक्टर हरिशंकर शाह प्याब्सन मधेस प्रदेशका वरिष्ठ सल्लाहकार लालबाबु पटेल जिल्ला कार्यसमिति पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला शाहले हस्ताक्षर गरेका छन्।
सम्झौता पत्रमा वीरगञ्जका निजी तथा आवासीय विद्यालयमा आबद्ध शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरू र कर्मचारीहरूको उपचार गरिने प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिनुभएको छ।













COMMENTS