लिटल बडी प्रिस्कुलमा भव्य रूपमा मनाइयो ग्रान्डपेरेन्ट्स डे मनायो हजुरबुवा–हजुरआमा मख्ख
वीरगंज । लिटल बडी प्रिस्कुलमा बालबालिका र उनीहरूका हजुरबुवा–हजुरआमाबीचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले ग्रान्डपेरेन्ट्स डे विशेष कार्यक्रमका साथ मनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रेणुका गिरीको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गिरीले बालबालिकाको जीवनमा हजुरबुवा–हजुरआमाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले हजुरबुवा–हजुरआमाबाट बालबालिकाले माया, संस्कार, अनुभव र पारिवारिक मूल्य सिक्ने भएकाले पुस्ताबीचको सम्बन्धलाई अझ बलियो बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले गर्दै आएको सिर्जनात्मक गतिविधिको समेत उनले प्रशंसा गरिन्।
कार्यक्रमको सभापतित्व लिटल बडी प्रिस्कुलका प्रिन्सिपल बिजय कुमार बलले गरेका थिए। कार्यक्रममा लिटल बडीका निर्देशक राहुल श्रीवास्तवको समेत विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा बालबालिकाका हजुरबुवा तथा हजुरआमाको उल्लेखनीय सहभागिता रहेको थियो। आफ्ना नातिनातिनासँग समय बिताउन पाउँदा उनीहरू उत्साहित देखिन्थे। बालबालिकाले विभिन्न गीत तथा सांस्कृतिक प्रस्तुतिमा आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य सुप्रिया पौडेलले दिएकी थिइन्। उनले हजुरबुवा–हजुरआमा परिवारका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बालबालिकाको भावनात्मक तथा सामाजिक विकासमा उनीहरूको भूमिका महत्वपूर्ण रहने बताइन्।
कार्यक्रमको सञ्चालन खुसी श्रेष्ठले गरेकी थिइन्। बालबालिकाका विविध प्रस्तुति, हजुरबुवा–हजुरआमाको उत्साहपूर्ण सहभागिता तथा आत्मीय वातावरणले कार्यक्रमलाई विशेष बनाएको थियो।
ग्रान्डपेरेन्ट्स डेले बालबालिकालाई आफ्ना हजुरबुवा–हजुरआमासँगको सम्बन्ध र पारिवारिक मूल्य बुझ्ने अवसर प्रदान गर्नुका साथै पुस्ताबीचको सम्बन्धलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।

COMMENTS