वीरगञ्जमा ‘शिक्षा संवाद–२’ सम्पन्न, शिक्षामा देखिएका विकृति अन्त्य गर्न नयाँ कानुन आवश्यक
वीरगञ्ज । प्याब्सन, एन–प्याब्सन, एपीएन, हिसान, सीएमसीएफएन तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा वीरगञ्जमा ‘शिक्षा संवाद–२’ कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्जस्थित बीपीएस कलेजमा आयोजित ‘शिक्षाका सरोकारवालासँग प्रत्यक्ष संवाद– मधेस प्रदेश’ विषयक छलफल कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाले नेपालको शिक्षा प्रणालीमा देखिएका समस्या, चुनौती तथा सुधारका विषयमा धारणा राखेका थिए।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माननीय शिक्षा मन्त्री एवं विधेयक कार्यक्रम संयोजक शैलेन्द्र झा, मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष दीपक रेग्मी, एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष राम विनय चौरसिया, प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुशीला शाह, एन–प्याब्सन महानगर अध्यक्ष जियालाल गुप्ता, एन–प्याब्सन जिल्ला अध्यक्ष राम श्रेष्ठ, हिसान जिल्ला अध्यक्ष मुकेश गुप्ता, उपाध्यक्ष आलोक चौरसिया, केन्द्रीय सदस्य मनीष सिंह, प्राचार्य विनोद मेहता, युवा उद्यमी परीक्षा गौतम, डा. सुशील भट्टराई, समाजसेवी प्रकाश उपाध्यायलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रमा देखिएका विकृति तथा विसंगति अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहबीच नबाझिने गरी स्पष्ट र व्यवहारिक शिक्षा ऐन तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी छात्रवृत्ति वास्तविक रूपमा जेहेन्दार, गरिब, विपन्न तथा पछाडि परेका विद्यार्थीले पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने, आइतबार दिइँदै आएको सार्वजनिक बिदा हटाउनुपर्ने तथा सामुदायिक र निजी विद्यालयहरुबीच शिक्षाको क्षेत्रमा देखिएको विभेद अन्त्य गर्नुपर्ने धारणा समेत शिक्षा संग सरोकार राख्ने सहभागीहरूले बताएका थिए। कार्यक्रममा
वक्ताहरूले शिक्षा प्रणालीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी विद्यार्थीको क्षमता, सीप र रोजगारीसँग जोडिने व्यावहारिक शिक्षामा विशेष ध्यान दिनुपर्ने बताएका थिए। निजि विद्यालयहरू तथा कलेजहरू जसरी खोलिएका छन् उनीहरूको सम्पत्ति को संरक्षण को सँगसँगै अहिले नयाँ विधेयकमा गुठी वा प्रालीमा लैजाने भन्ने बारेमा समेत ठूलो बहस चलिरहेको अवस्थामा यस्तो अवस्था रहे निजि स्कुल र कलेजको हकहित र संरक्षण कसले गर्ने भन्ने बारेमा समेत प्रश्नहरू निजी विद्यालयका सञ्चालक एवं कलेजका सञ्चालकहरुले चिन्ता व्यक्त गरेका थिए। साथै शिक्षा पेशालाई सम्मानित र मर्यादित बनाउन सरकारले आवश्यक नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका थिए ।कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाबीच प्रत्यक्ष संवादमार्फत आएका सुझाव तथा समस्यालाई आगामी शिक्षा नीति तथा कानुन निर्माणका क्रममा समेट्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाले गरेका थिए! कार्यक्रममा निजी विद्यालयका सञ्चालकहरू तथा कलेजका प्रिन्सिपलहरू एवं अभिभावक शिक्षक शिक्षिकाहरू विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो।

COMMENTS