मधेस प्रदेशको धनुषा जिल्ला स्थित कमला नगरपालिका–६ सखुवा मदनमा मस्जिद तोडफोड भएको घटनाले वीरगञ्जमा उत्पन्न धार्मिक तनाव न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
बैठकमा हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टै छलफल भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएको छ । सर्वपक्षीय बैठकमा जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थित रहेको थियो।
बैठकमा सामूहिक प्रेस विज्ञप्ति जारी गर्ने, सामाजिक सद्भाव कायम राख्ने तथा एक–अर्कामाथि आरोप–प्रत्यारोप नगर्ने सहमति समेत भएको प्रमुख जिल्ला धिकारी दाहालले बताएका हुन्। बैठकमा कार्यक्रम आयोजना गर्न अनिवार्य रूपमा प्रशासनको अनुमति लिनुपर्ने र अनुमति बिना कार्यक्रम गरे कडा कारबाही गर्ने निर्णय भएको छ ।
बैठकबाट बङ्गलादेशमा पछिल्लो समय अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या, हिंसा, बलात्कार र लुटपाट लगायतका घटनाबारे पर्सा र विशेषगरी वीरगञ्जमा प्रदर्शन गर्न नपाइने तथा मदरसाहरूको प्रशासनिक अनुगमन गर्ने जस्ता महत्त्वपूर्ण निर्णयहरू पनि भएकाे छ प्रशासनले सबै सहमति तथा समुदाय स्तरीय छलफलको निष्कर्षपछि कर्फ्युसम्बन्धी थप निर्णय सार्वजनिक गर्ने बताएको छ ।
बैठकमा हिन्दु अगुवाहरूले विदेशमा बसेर हिन्दु धर्ममाथि नकारात्मक टिप्पणी गर्ने नदीम अन्सारीलाई पक्राउ गर्न माग गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमार्फत गरिएका यस्ता टिप्पणीले धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै तत्काल कानुनी कारबाहीको आग्रह गरेका हुन् । बैठकमा धार्मिक सहिष्णुता कायम गर्ने र तनाव न्यूनीकरणका उपायहरूबारे पनि व्यापक छलफल भएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको बैठकले वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै शान्ति–सुरक्षा व्यवस्थापन, कर्फ्युको अवधि र सामाजिक सद्भाव कायम राख्ने उपायहरूमा छलफल भएको हो। प्रशासनले दुवै समुदायलाई संयम अपनाउन, अफवाह नफैलाउन र सुरक्षा निकायलाई सहयोग गर्न निरन्तर आग्रह गर्नुभएको थियो ।वीरगञ्जको अवस्था सामान्य नभएपछि कर्फ्युको अवधि साँझ ६ बजेसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् उनले बताएअनुसार। संवेदनशील क्षेत्रहरूमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभएको छ।




COMMENTS