वीरगंज, २१ पुस । जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरे पनि त्यसको अवज्ञा गर्दै वीरगंजको माईस्थान र घण्टाघर क्षेत्रमा हिन्दूवादीहरुले प्रदर्शन गरिरहेका छन् ।
आइतवार वीरगंजमा मुस्लिम समुदायले प्रदर्शन गर्दै हिन्दूवादीलाई लक्षित गरी आरोप लगाएको विरोधमा आइतवार साँझदेखि हिन्दुवादी युवाहरुले प्रदर्शन गरेका थिए ।
सोमवार पनि हिन्दूवादी युवाहरुले प्रदर्शन गर्दै वीरगंजको छपकैया जान खोज्दा प्रहरीले ब्यारियर लगाएर रोक लगाएको छ ।
घटनालाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी भोला दाहालले निषेधाज्ञा जारी गरेका छन् ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२।०९।२१ गते दिउँसो १ः०० बजेदेखि अको आदेश नभएसम्म वीरगंज महानगरपालिकाका देहायका स्थानहरूमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ । उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने जिप्रका, पर्साले जनाएको छ ।
प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी गरेको भोला प्रजिअ दाहालले जनाएका छन् ।
यद्यपि प्रशासनको निषेधाज्ञाको अवज्ञा गर्दै हिन्दूवादी युवाहरूले प्रदर्शन गरेका छन् । कुनै पनि ठोस प्रमाण र सबुतबिना अर्काे धर्ममाथि आरोप लगाउँनु अत्यन्त अनुचित र निन्दनीय रहेको उनीहरुले बताएका छन। विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरूले कहाँ के भयो त्यसको छानबिन प्रहरीले गरिरहेको छ। तर सुनियोजित रूपमा हिन्दूहरूलाई बदनाम गर्ने कार्य मुस्लिम समुदायले गरेको छ, जुन गलत रहेको बताएका थिए।

COMMENTS