प्रेस सेन्टर नेपालको बाइसौँ स्थापना दिवसको अवसरमा बिरगंजमा प्रभात फेरि तथा खुला रक्तदान कार्यक्रम गरी मनाइएको छ। घण्टाघरबाट सुरु प्रभातफेरी शुरु भइ माईस्थान, आदर्शनगर हुँदै नगर परिक्रम गरी पुन घन्टाघरमा आई कोण सभामा परिणत भएको थियो।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको नेतृत्वमा प्रभात फेरि र्याली निकालिएको हो । प्रभात फेरि र्याली पछि कोणसभामा परिणत भएको थियो कोड सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेले पत्रकारिता पेशागत मर्यादा, विश्वसनीयता तथा सामाजिक उत्तरदायित्वमा रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको थियो। उनले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। विशेषगरी निर्वाचनजस्ता संवेदनशील विषयको रिपोर्टिङ गर्दा कुनै पूर्वाग्रह नराखी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो।संयोजक लामिछानेले पत्रकारिताको मूल धर्म सत्यको खोज र जनताको विश्वास कायम गर्नु भएको उल्लेख गर्दै गलत सूचना तथा अफवाह फैलिन नदिन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको हो।
त्यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको सवाल अझै पनि पत्रकारहरूको लागि चुनौतीपूर्ण रहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने र सबै पत्रकारहरू एकजुट र एक ढिक्का भएर लाग्नुपर्ने यसो गरे मात्रै पत्रकारहरु सुरक्षित हुने बताउनु भएको थियो । त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश खनालले निर्वाचनका समयमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचार संहिताको विशेष ध्यान दिनुपर्ने बताए।कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दिपक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल , प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर लगायत पर्साका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थापना दिवसको अवसरमा रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो। रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पत्रकारहरूको भूमिकालाई उजागर गरेको आयोजकले जनाएको छ। रक्तदान कार्यक्रममा अजित कुमार भुजेल, रन्जित पाण्डे, संजोग गिरी, सन्तोष कुशवाह , दिपेन्द्र प्रसाद साह लगायतले रक्तदान गरेका थिए।प्रेस सेन्टर नेपालले स्थापना दिवसलाई हरेक वर्ष पत्रकारिता सुदृढीकरण, पेशागत क्षमता अभिवृद्धि तथा सामाजिक सेवासँग जोड्दै मनाउँदै आएको जानकारी आयोजकले दिएका छन्। कार्यक्रमकोसहजीकरण सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भूजेलले गरेका थिए।





COMMENTS