प्याब्सन पर्साको आयोजनामा जारी प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत तेस्रो दिन तीन खेलहरू सम्पन्न भएका छन्। दिनभर भएका खेलहरूमा ज्ञानदा एकेडेमी, साउथ जोन र गौतम माविले जित हात पारेका छन्।
तेस्रो दिनको पहिलो खेलमा ज्ञानदा एकेडेमीले सिद्धार्थ नेशनल स्कुललाई ६४ रनले पराजित गर्यो। १५ ओभरको निर्धारित खेलमा टस जितेर ब्याटिङ रोजेको ज्ञानदाले ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। लक्ष्य पछ्याएको सिद्धार्थ नेशनल ५१ रनमै अलआउट हुन पुग्यो। ज्ञानदाका खिलराज सर्राफ म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा साउथ जोन स्कुलले सूर्योदय स्कुललाई ६ विकेटले हरायो। टस हारेर ब्याटिङ गरेको सूर्योदय १४ ओभरमै अलआउट हुँदै १०० रनमा सीमित भयो। जवाफमा साउथ जोनले ११.४ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। साउथ जोनका अशोक बैठा म्यान अफ द म्याच बने।
तेस्रो खेलमा गौतम माध्यमिक विद्यालयले माउण्ट मकालुलाई ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको माउण्ट मकालु १५ ओभरमा ९ विकेट गुमाउँदै ५२ रनमै सीमित रह्यो। सामान्य लक्ष्य पछ्याएको गौतमले १०.२ ओभरमै ४ विकेटको क्षतिमा ५३ रन बनाउँदै सहज जित निकाल्यो। गौतमका विराट पाण्डे म्यान अफ द म्याच घोषित भएका थिए।







COMMENTS