वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, पर्साले बजार अनुगमनलाई तीव्र बनाउँदै विभिन्न उद्योग, होटल, डेरी तथा किराना व्यवसायमाथि कारबाही गरेको छ। कार्यालयले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार अनुगमन गरी आवश्यक निर्देशन तथा जरिवाना गरेको जनाएको छ।
कार्यालयले वैशाख २५, २९ र ३० गते विभिन्न स्थानमा सञ्चालन गरिएको बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्ने गतिविधि भेटिएपछि कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सुनिल चौरासियाले जानकारी दिनुभएको छ
वैशाख ३० गतेको अनुगमनमा बरीयारपुर, कोल्हवी लगायत क्षेत्रमा रहेका उद्योग तथा व्यवसायको निरीक्षण गरिएको थियो। सो क्रममा मुस्कान डेरीलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै हाम्रो फ्रेस चाउमिन उद्योगलाई २० हजार रुपैयाँ, न्यू जैशवाल मिठान भण्डारलाई ५ हजार रुपैयाँ तथा बैष्णव होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ। शिवम् ट्रेडर्स र आयुष ज्वेलर्सलाई भने सामान्य निर्देशन दिइएको छ।
यसैगरी वैशाख २९ गते वीरगञ्ज महानगरपालिका तथा सिम्रौनगढ क्षेत्रमा गरिएको अनुगमनमा दिलसाद फ्रेस हाउसलाई २० हजार रुपैयाँ, अफरोज अन्सारीलाई २० हजार रुपैयाँ तथा नारायणी फुड्स उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो। अन्य विभिन्न पसल तथा व्यवसायलाई आवश्यक सुधार गर्न सामान्य निर्देशन दिइएको कार्यालयले जनाएको छ।
त्यसैगरी वैशाख २६ गते कलैया तथा कुवेर्श क्षेत्रमा गरिएको अनुगमनमा केशर स्वीट्सलाई २० हजार रुपैयाँ तथा माँ अन्नपूर्ण स्वीट्स एण्ड फास्टफुडलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो। अन्य केही व्यवसायलाई सामान्य निर्देशन दिइएको जनाइएको छ।
कार्यालयका अनुसार अनुगमनका क्रममा मूल्य सूची नराख्ने, म्याद नाघेका वस्तु बिक्री गर्ने, दर्ता तथा लेबलसम्बन्धी मापदण्ड पालना नगर्ने लगायतका कमजोरी फेला परेका थिए। उपभोक्ताको स्वास्थ्य तथा हितलाई ध्यानमा राख्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने वाणिज्य आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी मधुरेस प्रसाद साहले बताएका छन् उपभोक्ताहरूको गुनासो बढेपछि आफूहरूले अनुगमनलाई तीव्र पार्दै कारबाही समेत गरिएको र जरिवाना असुली गरेको सूचना अधिकारी शाहले बताएका हुन् बजारमा अखाद्य तथा गुणस्तरहीन माछामासुहरू बिक्री वितरण गर्ने र साइन बोर्डहरू मूल्य सूची समेत नटासेकोले त्यस्ता पसलेहरुलाई समेत सचेत गरिएको बताए उनले भने उपभोक्ताहरूको स्वास्थ्यसँग खेलवाड हुने काम यदि कसैले पनि गर्छ भने उपभोक्ता संरक्षण ऐन कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत आफूहरुले दिएको शाहको भनाइ रहेको छ।


COMMENTS