वीरगंज महानगरद्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुल्ला गरेका छ कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन खुला : जेठ २७ सम्म आवेदन दिन सकिने छ
वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ । आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले महानगरले हरेक वर्ष सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष पनि आवेदन आह्वान गरिएको हो ।महानगरपालिकाका अनुसार छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिएका विद्यार्थीहरूको लिखित परीक्षा सञ्चालन गरी योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।
कक्षा ९ का लागि २०८२ सालको नगरस्तरीय कक्षा ८ को परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थी तथा कक्षा ११ का लागि २०८२ सालको एसईई परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार अनलाइन आवेदन फाराम बुधबार बिहान १० बजेदेखि जेठ २७ गते राति ११:५९ बजेसम्म भर्न सकिनेछ । आवेदन महानगरपालिकाको आधिकारिक छात्रवृत्ति पोर्टल scholarship.birgunjmun.gov.np मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।
महानगरपालिकाले विगत केही वर्षदेखि संस्थागत विद्यालयहरूमा अध्ययनका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ ।




COMMENTS