बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी ट्याङ्कीमा रहेको प्रभु अस्पताल र मिनिल्यान्ड इङ्लिस सेकेन्डरी स्कूलबीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्य सम्झौता सम्पन्न भएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य उपचारमा सहज, र प्रभावकारी बनाउने उद्देश्यले उक्त सम्झौता गरिएको मिनील्यान्ड बोर्डिङ स्कुलका प्रिन्सिपल सुरज बाबु पटेलले बताएका छन्। यो सम्झौताले विद्यालय सँगसँगै अस्पतालले आफूहरूसँग सहकार्य गरेकोमा खुसी व्यक्त गर्दै समाजसेवामा समेत प्रभु अस्पताल उत्तरदायित्व बहन गर्न अहम भूमिका खेल्न मद्दत गरिरहेकोमा विद्यालयले आभारी व्यक्त समेत गरिएको प्रिन्सिपल पटेलको भनाइ रहेको छ। उनले भने विद्यालयका शिक्षक तथा कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध रहेकाले उनीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सहकार्य अघि बढाइएको जनाइएको छ। सम्झौताअनुसार अब मिनिल्यान्ड प्लस टुमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले प्रभु अस्पतालमा विभिन्न स्वास्थ्य सेवा, उपचार तथा परामर्श सुविधा न्यूनतम शुल्कमा प्राप्त गर्न सक्नेछन्।
अस्पताल प्रशासनले विद्यालयका शिक्षक तथा कर्मचारीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइने जनाएको छ। साथै विशेषज्ञ चिकित्सकमार्फत नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श, प्रयोगशाला सेवा तथा आवश्यक उपचारमा विशेष सहुलियत प्रदान गरिने अस्पतालले जनाएको छ।
विद्यालय प्रशासनले शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षा तथा मनोबल अभिवृद्धिका लागि यस्तो सहकार्य महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। स्वस्थ जनशक्तिले नै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने भन्दै विद्यालयले आगामी दिनमा शिक्षा र स्वास्थ्य क्षेत्रबीच यस्ता सहकार्यलाई अझ विस्तार गर्दै लैजाने लक्ष्य रहेको जनाएको छ।

COMMENTS