पर्सा जिल्लाको बीरगंज महानगरपालिका वीरगंज वडा नम्बर ११ श्रीपुरस्थित झाझी टोलमा अवैध देहव्यापार सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दै ७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको विशेष टोलीले बुधबार राती स्थानीय वकिल मियाँको घरमा छापा मारी दुई पुरुष र पाँच महिलालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सो स्थानमा लामो समयदेखि शंकास्पद गतिविधि भइरहेको सूचनापछि निगरानी बढाइएको थियो। प्रारम्भिक अनुसन्धानमा अवैध देहव्यापार सञ्चालन भइरहेको आशंका पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक सोधपुछ तथा अनुसन्धान अघि बढाइएको छ। घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय वीरगञ्जका विभिन्न क्षेत्रमा यस्ता अवैध गतिविधि बढ्दै गएको गुनासोपछि विशेष निगरानी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यस्ता गतिविधि नियन्त्रणका लागि थप कडाइ गरिनेछ।
स्थानीयवासीले भने रातिको समयमा उक्त क्षेत्रमा अपरिचित व्यक्तिहरूको आवतजावत बढेको र शंकास्पद गतिविधि देखिने गरेको बताएका छन्। प्रहरीले यस्ता गतिविधिबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गर्दै सूचनादाताको गोपनीयता सुनिश्चित गरिने जनाएको छ।


COMMENTS