जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी आन्दोलित भएका छन् ।
प्रतिष्ठान अन्तर्गत सञ्चालित चिकित्साशास्त्र सङ्कायका सम्पूर्ण विद्यार्थीले पठनपाठन बन्द गरेका छन् । अध्ययन–अध्यापनसहित प्रतिष्ठानमा देखिएका विभिन्न समस्याको समाधानको माग गर्दै उनीहरूले आज (बिहीबार)देखि पठनपाठन बन्द गरेका हुन् ।
विद्यार्थीहरूले प्रत्येक सङ्काय र ब्याचका लागि निश्चित कक्षाकोठाको व्यवस्था गर्नुपर्ने, अध्ययन–अध्यापनका लागि पर्याप्त मात्रामा प्रोजेक्टर, ल्यापटपलगायत शैक्षिक सामग्री उपलब्ध गराउनुपर्ने तथा सबै कक्षाकोठामा सहज पहुँच हुने गरी इन्टरनेट सुविधा विस्तार गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै, दैनिक कक्षा तालिका अनुसार नियमित कक्षा सञ्चालनको सुनिश्चितता, नियमित प्रयोगात्मक कक्षा तथा पाठ्यक्रमअनुसार फिल्ड एक्सपोजर अनिवार्य कार्यान्वयन, वार्षिक शैक्षिक क्यालेन्डर निर्माण गरी समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूको छ । साथै, लाइब्रेरी, अध्ययन कक्ष र पर्याप्त पुस्तकको व्यवस्था, कक्षाकोठा तथा प्रतिष्ठान परिसरको नियमित सरसफाइ गरी स्वच्छ वातावरण निर्माण गर्नुपर्ने माग विद्यार्थीले अघि सारेका छन् ।
विद्यार्थीहरूले सबै कक्षाकोठामा पर्याप्त पंखाको व्यवस्था, सङ्कायबीच भेदभावरहित वातावरण, पर्याप्त र शुद्ध खानेपानीको सुविधा, शौचालयको नियमित सरसफाइ तथा बत्ती, पानी, साबुन र ढोकामा चुकुलको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
महिला शौचालयमा स्यानिटरी प्याड विसर्जनका लागि डस्टबिन, प्राथमिक उपचारका लागि ‘फर्स्ट एड किट’ उपलब्ध गराउनुपर्ने, फिल्ड भ्रमणका क्रममा आवश्यक सेवा–सुविधा (बासस्थान, खाना, यातायात तथा शैक्षिक सामग्री) सुनिश्चित गर्नुपर्ने तथा विद्यार्थीको चापअनुसार थप बस वा उचित यातायात व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।
आन्दोलित विद्यार्थीहरूले आफ्ना माग पूरा नभएसम्म कक्षा सञ्चालन हुन नदिने अडान लिएका छन् । साथै, डिन र निर्देशकको कार्यालय घेराउ गर्ने चेतावनीसमेत दिएका छन् ।
यता, प्रतिष्ठानका निर्देशक डा. जामुन सिंहले आर्थिक अभावका कारण केही भौतिक पूर्वाधारसम्बन्धी सामग्रीको व्यवस्था गर्न नसकिएको जानकारी दिए । उनले विद्यार्थीका केही माग तत्काल सम्बोधन गर्न सकिने र बाँकी माग एक हप्तादेखि १० दिनभित्र समाधान गर्ने बताए ।
निर्देशक डा. सिंहका अनुसार विद्यार्थी पढाउन आवश्यक अनुदान रकम प्रदेश र संघीय सरकार दुवैबाट उपलब्ध नभएकाले दुई विषयको पढाइ बन्द गर्नुपरेको हो । आगामी दिनमा पनि सरकारले उपलब्ध गराउनुपर्ने रकम नपठाए अन्य विषयको कक्षा र सङ्कायसमेत बन्द हुन सक्ने अवस्था सिर्जना हुने उनले बताए ।

COMMENTS