मधेशका प्रणेता स्व. बाबा रामजन्म तिवारीको २७औँ स्मृति दिवस वीरगञ्जमा मनाइयो मधेशका प्रणेता स्व. रामजन्म तिवारीको २७औँ स्मृति दिवस वीरगञ्जमा भव्य रूपमा मनाइएको छ। वीरगञ्जको घण्टाघरस्थित स्व. बाबाको सालिक प्राङ्गणमा प्रोफेसर भाग्यनाथ गुप्ताको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मधेशवादी अभियन्ता तथा अधिवक्ता सुरेन्द्र कुर्मी, अधिवक्ता पन्नालाल गुप्ता, शशी कपूर मियाँ, नेजामुदिन समानी, शिव पटेल, शम्भु गुप्ता, श्याम गुप्ता,स्व. बाबा के सुपुत्र अखिलेश तिवारी , पौत्रद्वय अभिनन्दन पाठक एवं अधिवक्ता आशुतोष तिवारी, एवं शुभेच्छुकहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
स्मृति दिवस कार्यक्रममा सहभागीहरूले स्व. बाबाको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गदै उहाँले देखाएको बाटोमा हिँड्दै अधिकार सम्पन्न, समुन्नत मधेश र समृद्ध नेपाल निर्माण गर्ने संकल्पसमेत दोहोर्याइएका थिए कार्यक्रममा बोल्दै अधिवक्ता सुरेन्द्र कुर्मीले स्व. तिवारीको जीवन, संघर्ष र राजनीतिक यात्राबारे चर्चा गर्दै मधेश र मधेशी जनताको अधिकारका लागि उहाँले खेलेको भूमिका अतुलनीय रहेको बताए। उनले वर्तमानमा देशको उच्च राजनीतिक तहसम्म मधेशी समुदायको पहुँच स्थापित हुनुमा स्व. तिवारीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
कुर्मीका अनुसार स्व. तिवारीले युवावस्थादेखि नै २००७ सालको क्रान्तिदेखि पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका थिए। आन्दोलनका क्रममा पटक–पटक जेल परे पनि उहाँ आफ्नो अडानबाट पछि हट्नुभएन। २०४६ सालको जनआन्दोलनमा पनि अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
उनले नेपाल सद्भावना पार्टी गठन गरी मधेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए। मन्त्री बन्ने अवसर हुँदा पनि आफूभन्दा गजेन्द्र नारायण सिंहलाई अगाडि सारेर मधेशवादी मुद्दालाई संसदसम्म पुर्याउन त्यागपूर्ण भूमिका खेलेको कुर्मीले बताए।
त्यस्तै कार्यक्रममा अध्यक्ष प्रो. भाग्यनाथ गुप्ताले २००७ सालदेखि नै मधेश र मधेशी जनताको अधिकारका लागि बुलन्द आवाज उठाउने पहिलो योद्धा स्व. बाबा तिवारी रहेको बताए। उनले स्व. तिवारीको त्याग, तपस्या र संघर्षकै कारण आज मधेशी जनताले अधिकार प्राप्त गर्न सफल भएको धारणा व्यक्त गरे।
गुप्ताले पञ्चायती व्यवस्थाको समयमा मधेशविरुद्ध ल्याइएका विभेदकारी नीतिको स्व. तिवारीले सशक्त विरोध गरेको स्मरण गर्दै उहाँले जीवनभर मधेशी समुदायको पहिचान, संस्कृति, भाषा र अधिकारको संरक्षणका लागि संघर्ष गरिरहनुभएको बताए।
उनका अनुसार २००७ सालको क्रान्ति र २०४६ सालको आन्दोलनमा वीरगञ्जको महत्वपूर्ण भूमिका थियो, जसमा स्व. तिवारी अग्रपंक्तिमा रहेर नेतृत्व गरेका थिए। “स्व. बाबा आज शारीरिक रूपमा हामीबीच नरहे पनि उहाँका विचार, संघर्ष र योगदान सदैव जीवित रहने” गुप्ताले भने छन्
कार्यक्रममा स्वागत मन्तव्य स्व. तिवारीका पौत्र अधिवक्ता आशुतोष तिवारीले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंहले गरेका थिए।



COMMENTS