प्रहरीले आज बिहानै पर्साको ठोरीबाट वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई नागरिकता लिखतसम्बन्धी कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पर्साको ठोरीबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए ।
सिंहलाई पर्सा जिल्लाको ठोरी गाउँपालिकास्थित ठोरी भिलेज रिसोर्टबाट मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीबाट खटिएको विशेष टोलीले सिंहलाई नियन्त्रणमा लिएको डिएसपी बस्नेतले बताए ।
पर्सा जिल्ला अदालतले लिखत किर्ते सम्बन्धी मुद्दामा ८ जेठमा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नागरिकता लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि गत मङ्गलवार (जेठ १२ गते) पनि अदालतले पक्राउ पुर्जी जारी गरिएको आधारमा चार वटा मुद्दा दायर भएकोमा पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिएका छन् ।
यसअघि मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार अदालत नजिकै रहेको एक जना कानुन व्यवसायीको कार्यालयबाट नियन्त्रणमा लिएको थियो । यद्यपि, उनलाई नियन्त्रणमा राख्न कुनै आधार र प्रमाण नभेटिएपछि राती रिहा गरिएको थियो । डिएसपी बस्नेतका अनुसार सामान्य सोधपुछ पश्चात् घिमिरेलाई रिहा गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

COMMENTS