बीरगंजमा ७ गतेबाट फेरि डोजर चल्ने सडक सीमा अतिक्रमण हटाउन वीरगञ्ज महानगरलाई सडक डिभिजनको सहयोग आग्रहवीरगञ्ज, असार ५ – सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्ज महानगरपालिकासँग सडक सीमा क्षेत्रभित्र रहेका घर–टहरा हटाउने कार्यमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख किरण कार्कीद्वारा हस्ताक्षरित पत्रमार्फत वीरगञ्ज महानगरपालिकालाई सहयोगका लागि अनुरोध गरिएको हो। कार्यालयले २०८३ असार ७ गतेदेखि त्रिभुवन राजपथअन्तर्गत सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक अतिक्रमण हटाउने अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
पत्रअनुसार उक्त सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने सडक सीमा क्षेत्रमा निर्माण गरिएका स्थायी तथा अस्थायी घर–टहरा हटाउने कार्य गरिनेछ। सो कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न महानगरपालिकाको आवश्यक सहयोग अपेक्षा गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक विस्तार तथा व्यवस्थापनको उद्देश्यले सडक सीमा मिचेर बनाइएका संरचना हटाउन लागिएको कार्यालयको भनाइ छ। यस अभियानले सडक सुरक्षामा सुधार हुनुका साथै भविष्यमा सडक विस्तार तथा यातायात व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालयको यस कदमसँगै सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मका सडक क्षेत्रभित्र पर्ने घरधनी तथा व्यवसायीहरूमा चासो बढेको छ। स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा अतिक्रमण हटाउने कार्य अघि बढाइने जनाइएको छ।

COMMENTS