एआई अपनाउने उद्योगको लागत घट्दै, आम्दानी बढ्दै: मधेश विश्वविद्यालयको अन्तर्राष्ट्रिय अनुसन्धान वीरगञ्ज। कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगले उद्योगहरूको लागत घटाउने, आपूर्ति शृङ्खलालाई सुदृढ बनाउने र राजस्व वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने निष्कर्ष मधेश विश्वविद्यालयको नेतृत्वमा सम्पन्न अन्तर्राष्ट्रिय अनुसन्धानले सार्वजनिक गरेको छ। उक्त अनुसन्धान विश्वविद्यालयका डीन डा. अन्जय कुमार मिश्रको नेतृत्वमा सम्पन्न भएको हो।
Journal of Advanced Research in Quality Control and Management मा प्रकाशित “Artificial Intelligence and Supply Chain Resilience: Implications for Organizational Performance” शीर्षकको अध्ययनले एआईमा आधारित व्यवस्थापन प्रणाली अपनाउने उद्योगहरूले उत्पादन लागत घटाउनुका साथै ग्राहक सन्तुष्टि र व्यवसायिक नाफामा उल्लेखनीय सुधार गर्न सक्ने देखाएको छ।
अनुसन्धानका अनुसार एआई–आधारित माग पूर्वानुमान प्रणाली प्रयोग गर्दा बजार मागको पूर्वानुमानको शुद्धता ६३ प्रतिशतबाट ८७ प्रतिशत पुगेको छ। यसले अनावश्यक उत्पादन, कच्चा पदार्थको अधिक भण्डारण तथा स्टक अभावजस्ता समस्यालाई उल्लेखनीय रूपमा घटाउन सहयोग पुर्याउने अध्ययनको निष्कर्ष छ।
त्यसैगरी, एआई–सञ्चालित इन्भेन्टरी व्यवस्थापन अपनाएका संस्थाहरूमा स्टक शुद्धता ८५ प्रतिशतबाट ९८ प्रतिशत पुगेको तथा गोदाम सञ्चालनको दक्षतामा पनि उल्लेखनीय सुधार देखिएको अनुसन्धानले जनाएको छ। यसले लागत न्यूनीकरणसँगै समग्र आपूर्ति शृङ्खलालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ
अनुसन्धानले रसद (लजिस्टिक्स) तथा ढुवानी क्षेत्रमा पनि सकारात्मक प्रभाव देखाएको छ। स्मार्ट रुटिङ तथा वास्तविक समय ट्र्याकिङ प्रणाली प्रयोग गर्दा डेलिभरी शुद्धता ८२ प्रतिशतबाट ९१ प्रतिशत पुगेको र यातायात खर्चमा उल्लेखनीय बचत भएको अध्ययनले उल्लेख गरेको छ। निर्यात, वितरण तथा ई–कमर्स क्षेत्रमा कार्यरत उद्योगहरूले यसबाट ठूलो प्रतिस्पर्धात्मक लाभ लिन सक्ने अनुसन्धानको निष्कर्ष छ
प्रमुख अनुसन्धानकर्ता डा. मिश्रका अनुसार आजको प्रतिस्पर्धी बजारमा केवल उत्पादन क्षमता पर्याप्त छैन। “डेटामा आधारित निर्णय प्रणाली र डिजिटल प्रविधि अपनाउने संस्था नै दीर्घकालीन रूपमा सफल हुनेछन्। एआई अब भविष्यको प्रविधि मात्र नभई वर्तमान आवश्यकता बनिसकेको छ,” उनले बताएका छन्।
अध्ययनले एआई अपनाएका संस्थाहरूमा राजस्व वृद्धि ५ प्रतिशतदेखि २४ प्रतिशतसम्म भएको तथा ग्राहक सन्तुष्टि सूचकांकमा पनि उल्लेखनीय सुधार देखिएको जनाएको छ। यसले एआईमा गरिएको लगानी दीर्घकालीन रूपमा लाभदायी हुने संकेत गरेको अनुसन्धानमा उल्लेख छ।
यो अध्ययन भारत र अमेरिकाका अनुसन्धानकर्तासँगको सहकार्यमा सम्पन्न भएको हो। अनुसन्धानमा एम. वासुकी, ए. दिनेश कुमार तथा म्बोनिगाबा सेलेस्टिन सहलेखकका रूपमा सहभागी रहेका छन्। अध्ययनले उद्योग, व्यवसाय तथा नीति निर्माताहरूलाई डिजिटल रूपान्तरणमा लगानी बढाउन र एआई–आधारित प्रणाली अपनाउन सुझाव दिएको छ।
विशेषज्ञहरूका अनुसार नेपालका उत्पादन, खाद्य प्रशोधन, औषधि, सिमेन्ट, स्टिल, खुद्रा व्यापार तथा ई–कमर्स उद्योगहरूले एआई प्रविधि अपनाए लागत नियन्त्रण, उत्पादकत्व वृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा उल्लेखनीय सफलता हासिल गर्न सक्नेछन्।
उद्योग क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, लागत वृद्धि तथा आपूर्ति शृङ्खलामा देखिएका चुनौतीबीच मधेश विश्वविद्यालयको यो अनुसन्धान नेपाली उद्योग क्षेत्रका लागि समयसापेक्ष र उपयोगी मार्गदर्शक दस्तावेजका रूपमा हेरिएको छ।

COMMENTS