सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समिति बैठक तथा उपलब्धि हस्तान्तरण कार्यक्रम सम्पन्न बेलायत सरकारको आर्थिक सहयोग, पिपुल इन निडको नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालित “सुरक्षा र न्याय कार्यक्रम” अन्तर्गत परियोजना सल्लाहकार समिति बैठक तथा उपलब्धि हस्तान्तरण कार्यक्रम आज सिम्रौनगढ नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष श्री उमेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख श्री किशोरी प्रसाद कलवार प्रमुख आतिथ्य तथा पिपुल इन निडका परियोजना प्रबन्धक श्री सुनिल कुमार साह विशेष आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, प्रहरी निरीक्षक, विद्यालयका प्रधानाध्यापक, विभिन्न शाखाका प्रतिनिधिहरू, समुदायमा आधारित संघसंस्थाका प्रतिनिधिहरू, परियोजनाका लाभग्राही तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका परियोजना प्रबन्धक गणेश बहादुर ठकुरीले परियोजना अन्तर्गत भएका जुन २०२४ देखि जुन २०२६ सम्मको सिम्रौनगढ नगरपालिकामा भएका समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, वित्त संयोजक राजिना अधिकारीले आर्थिक वर्ष २०८१÷०८२ तथा २०८२÷०८३ को वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलका क्रममा समुदायमा आधारित संघसंस्थाका प्रतिनिधिहरू उषा पटेल, महाराज प्रसाद यादव, फूलपती देवी मुखिया तथा मुकेश कुमार महतोले परियोजनाबाट प्राप्त उपलब्धि, सिकाइ तथा समुदायमा लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि गरिएका प्रयासबारे आफ्ना अनुभव साझा गर्नुभएको थियो । उहाँहरूले परियोजनाले समुदायस्तरमा सचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार तथा हिंसाविरुद्ध बोल्ने वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, श्री कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक नुराजन मियाँ तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजानीका प्रधानाध्यापक कमलेश प्रसाद अग्रहरीले विद्यालयस्तरमा गठन भएका बालिका तथा समावेशी शिक्षा सञ्जालमार्फत भएका सकारात्मक अभ्यासहरूको चर्चा गर्नुभयो । उहाँहरूले बालिका तथा समावेशी शिक्षाको प्रवद्र्धन, विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रको स्थापना तथा प्रभावकारी परिचालनमा परियोजनाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सिम्रौनगढ नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रेखा यादवले सुरक्षा र न्याय कार्यक्रमको प्रभावस्वरूप समुदायमा लैङ्गिक हिंसाका घटनामा कमी आउन थालेको बताउनुभयो । उहाँले नगरपालिकामा लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितमैत्री सेवा प्रवाहका लागि सञ्चालन गरिएका अभियानहरूमा परियोजनाको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्नुभयो । साथै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको संस्थागत विकास र सुदृढीकरणमा समेत कार्यक्रमले उल्लेखनीय योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा आफ्ना धारणा राख्दै पिपुल इन निडका परियोजना प्रबन्धक सुनिल कुमार साहले विगत दुई वर्षको अवधिमा हासिल भएका उपलब्धिहरूलाई स्थानीय तह तथा सरोकारवाला निकायहरूले संस्थागत गरी दीगो बनाउन आवश्यक रहेको बताउनुभयो । साथै परियोजनाले हासिल गरेका उपलब्धि, सिकाइ तथा प्रमाणसहितको सम्पन्न प्रतिवेदन सिम्रौनगढ नगरपालिकाका नगर प्रमुखलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख नजमु सेहरले नगरपालिकामा न्यायिक समितिको सुदृढीकरण तथा सदस्यहरूको क्षमता विकासमा सुरक्षा र न्याय कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले न्यायमा नागरिकको पहुँच अभिवृद्धि तथा स्थानीय तहमा न्यायिक अभ्यासलाई प्रभावकारी बनाउन परियोजनाले उल्लेखनीय योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो । प्रमुख अतिथि नगर प्रमुख किशोरी प्रसाद कलवारले परियोजना समाप्तिपछि पनि यसका उद्देश्य तथा उपलब्धिहरूलाई दीगो बनाउन नगरपालिकाले आवश्यक योजना तथा कार्यक्रम आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि नगरपालिकाले आवश्यक नीति निर्माण गरी अनुमोदन गरिसकेको जानकारी दिँदै उक्त नीतिको प्रभावकारी कार्यान्वयनका लागि आगामी वार्षिक कार्यक्रम तथा बजेटमा आवश्यक स्रोत सुनिश्चित गरिने बताउनुभयो । साथै, परियोजनाले समुदायसँगै नगरपालिकाको संस्थागत विकासमा समेत महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो र बेलायत सरकार, पिपुल ईन निड र दिव्य विकास स्रोत केन्द्रलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष उमेश चौहानले सुरक्षा र न्याय कार्यक्रमको सफल कार्यान्वयनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबै निकाय, साझेदार संस्था, सरोकारवाला तथा समुदायप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले परियोजनाबाट प्राप्त उपलब्धिहरूलाई स्थानीय सरकार तथा समुदायले आत्मसात् गरी आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रमको सञ्चालन दिव्य विकास स्रोत केन्द्रका परियोजना अधिकृत सुनिल कुमारले गर्नुभएको थियो । कार्यक्रमले स्थानीय तहमा लैङ्गिक हिंसा न्यूनीकरण, न्यायमा पहुँच अभिवृद्धि, बालिका तथा समावेशी शिक्षा प्रवद्र्धन तथा समुदायको सशक्तीकरणमा हासिल भएका उपलब्धिहरूको समीक्षा गर्दै ती उपलब्धिहरूलाई स्थानीय सरकारमार्फत दीगो रूपमा अगाडि बढाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो ।

COMMENTS