एस.आर. ग्यालेक्सी एकेडेमीका विद्यार्थीहरूद्वारा पदभार ग्रहण आज एक समारोह सम्पन्न भएको छ
वीरगञ्ज, जेठ २२ । वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित एस.आर. ग्यालेक्सी एकेडेमीमा शुक्रबार भव्य रूपमा पदभार ग्रहण (इन्भेस्टिचर) समारोह सम्पन्न भएको छ। विद्यालयमा विद्यार्थी नेतृत्व विकास, अनुशासन, जिम्मेवारीबोध तथा नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयका नवनियुक्त हेड ब्वाई, हेड गर्ल, सहायक हेड ब्वाई, सहायक हेड गर्ल, हाउस कप्तान, उपकप्तान, खेलकुद कप्तान तथा विभिन्न जिम्मेवारी प्राप्त विद्यार्थीहरूलाई आधिकारिक रूपमा ब्याच वितरण गरिएको थियो।कार्यक्रमको अध्यक्षता विद्यालयकी अध्यक्ष रीता कुशवाहाले गरेकी थिइन् भने प्रधानाध्यापक तथा निर्देशक शर्मानन्द कुशवाहाले विद्यालयमा नेतृत्व विकासको महत्वबारे प्रकाश पारेका थिए। प्रमुख अतिथि एपीएफका डीएसपी तथा विशिष्ट अतिथिका रूपमा नेपाल प्रहरीका निरीक्षक सहभागी भएका थिए। वडा नम्बर १३ का अध्यक्ष हिरा गिरी विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा विद्यार्थीहरूले स्वागत गीत, मार्च पास्ट, सांगीतिक प्रस्तुति तथा “घर हाम्रो नेपाल” शीर्षकको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। हेड ब्वाई र हेड गर्लले विद्यालयको नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए।शपथ ग्रहण समारोहमार्फत नवनियुक्त विद्यार्थी नेतृत्वलाई विद्यालयप्रति जिम्मेवार, अनुशासित र समर्पित भई कार्य गर्न प्रेरित गरिएको थियो। कार्यक्रममा उपप्रधानाध्यापक रञ्जित वर्मा तथा परीक्षा संयोजक मकहान चौधरीले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
समापन मन्तव्यका क्रममा प्रधानाध्यापक शर्मानन्द कुशवाहाले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै विद्यालयले आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिलाई निरन्तरता दिने बताए। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।


















COMMENTS