वीरगन्ज, १८ जेठः वीरग्नजमा रहेका डेरी उद्योग र मिठाई पसलहरुमा बजार अनुगमन टोलीले अनुगमन गरेको छ ।
जनकपुरको खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयबाट आएको मोबाइल ल्याब भ्यानसहितको टोली र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले वीरगन्जका डेरी उद्योग र मिठाई पसलहरुमा अनुगमन गरेको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीस्थित मंगलम डेरीमा परीक्षण गरिएको दूधमा सोडा भेटिएपछि उक्त दूध नष्ट गरेको छे । अनुगमन टोलीले मंगलम डेरीको २० लिटर दूध परीक्षण गर्दा त्यसमा सोडा मिसाएको फेला परेपछि उक्त दूध नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।साथै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ विपरीत कार्य गरेको पाइएकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम कसुर कायम गरी दफा ३९ (१)(क) अनुसार डेरीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको थापाले जानकारी दिए।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

COMMENTS