विद्यालय प्रशासनका अनुसार यो बीमा सुविधा चालु शैक्षिक सत्रदेखि लागू गरिएको हो र यसको उद्देश्य विद्यार्थीहरूलाई अध्ययनसँगै सुरक्षित वातावरण प्रदान गर्नु रहेको छ। विशेषगरी २४ घण्टा लागू हुने यो बीमा योजनाले विद्यार्थी विद्यालयमा मात्र नभई घर, बाटो, खेलकुद वा अन्य कुनै पनि समयमा हुने दुर्घटनालाई समेत समेट्नेछ।यस सुविधाअन्तर्गत कुनै पनि विद्यार्थी दुर्घटनामा परेमा अभिभावकले उपचार खर्चका लागि वर्षमा अधिकतम रु. १,००,००० सम्म दाबी गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, विद्यालय आउजाउ गर्ने क्रममा, घरमा खेल्दा वा अन्य दैनिक गतिविधिमा हुने दुर्घटनामा समेत प्रति घटनामा अधिकतम रु. २५,००० सम्मको राहत प्राप्त गर्न सकिने व्यवस्था रहेको छ।
त्यसैगरी, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विद्यार्थी सामान्य बिरामी भएको अवस्थामा चिकित्सकीय परामर्श, ओपीडी टिकट तथा औषधोपचार खर्च वापत वर्षमा अधिकतम रु. ३,५०० सम्मको सुविधा अभिभावकले दाबी गर्न सक्नेछन्।विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीले यस कदमले अभिभावकमा आर्थिक भार कम गर्ने मात्र नभई विद्यार्थीलाई अझ सुरक्षित र निश्चिन्त वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यस्तो बीमा सुविधा विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी कल्याणतर्फको महत्वपूर्ण प्रतिबद्धता हो।विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि यस्ता विद्यार्थीमैत्री कार्यक्रमहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ, जसले शिक्षासँगै सुरक्षालाई प्राथमिकतामा राख्ने आधुनिक शैक्षिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।





COMMENTS