सरकारले लगानीकर्तामाथि विभेद गरेको भन्दै जनकपुरधाममा प्रदर्शन गर्दै आन्दोलन गरे
जनकपुरधाम, २२ साउन। सरकारले लगानीकर्तामाथि विभेदपूर्ण व्यवहार गर्दै उनीहरूको लगानी सुरक्षित गर्न आवश्यक पहल नगरेको आरोप लगाउँदै लगानीकर्ता पीडित सङ्घर्ष समिति, मधेस प्रदेश ले शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।
समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी लगानीकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरूको बचत तथा लगानी फिर्ता गराउन ठोस पहल गर्न माग गरेका थिए। प्रदर्शनकारीहरूले सरकारले विभिन्न क्षेत्रका लगानीकर्तामाथि विभेदपूर्ण नीति अवलम्बन गरेको, पीडितहरूको समस्या समाधानमा उदासीन बनेको तथा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै प्रभावकारी कदम नचालेको आरोप लगाए।
प्रदर्शनका क्रममा बोल्ने समितिका प्रतिनिधिहरूले लाखौँ रुपैयाँ लगानी गरेका सर्वसाधारण आर्थिक रूपमा समस्यामा परेको उल्लेख गर्दै सरकारले पीडितहरूको रकम फिर्ता हुने सुनिश्चितता गर्नुपर्ने बताए। उनीहरूले दोषी व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही गर्दै लगानीकर्ताको अधिकारको संरक्षण गर्न माग गरे।
उनीहरूले सरकारसँग पीडित लगानीकर्ताको समस्या तत्काल समाधान गर्न, रकम फिर्ताको स्पष्ट कार्ययोजना सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा कानुनी व्यवस्था लागू गर्न आग्रह गरेका छन्।
समितिले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त र चरणबद्ध रूपमा देशव्यापी बनाउने चेतावनीसमेत दिएको छ। आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने प्रदर्शनका क्रममा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

COMMENTS