माउन्ट मकालु बोर्डिङ स्कुलका विद्यार्थीहरू द्वारा अन्तर सदन राखी (रक्षाबन्प्रधन )तियोगिता सम्पन्न
वीरगञ्ज, पर्सा। वीरगञ्ज महानगरपालिका–१०, अशोकवाटिकास्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलमा रक्षाबन्धन पर्वको अवसर पारेर भव्य अन्तर सदन राखी निर्माण प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित उक्त प्रतियोगितामा कक्षा ५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिनुभएको छ! उनले बताए अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा रहेको सिर्जनात्मक तथा कलात्मक प्रतिभाको पहिचान र विकास गर्नुका साथै नेपाली धर्म, संस्कृति, परम्परा तथा रक्षाबन्धन पर्वको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको थियो। साथै विद्यार्थीहरूलाई परम्परागत संस्कृतिप्रति सम्मान, आपसी प्रेम, सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गराउने तथा सिर्जनशील कार्यमा सहभागी गराउँदै चौतर्फी व्यक्तित्व विकास गर्नु यसको मुख्य उद्देश्य रहेको प्रिन्सिपल श्रीवास्तवको भनाइ रहेको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो प्रतिभा, सिर्जनशीलता, कलात्मक क्षमता तथा कल्पनाशक्तिको प्रयोग गर्दै आकर्षक, मौलिक र सुन्दर राखीहरू निर्माण गरेका थिए। विभिन्न सदनका विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धा देखिएको उक्त कार्यक्रमले विद्यालय परिसरलाई रक्षाबन्धनको सांस्कृतिक तथा उत्साहपूर्ण वातावरणले थप आकर्षक बनाएको थियो।
विद्यालयका निर्देशक कामेश्वर प्रसाद श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानाध्यापक राहुल श्रीवास्तव विद्यालयकी उपप्रधानाध्यापक रेखा जैसी अम्बिका केसी तथा अम्बिका श्रेष्ठ लगायत शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले राखीको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी प्राप्त गर्नुका साथै आफ्ना कला र सिर्जनात्मक क्षमताहरू प्रदर्शन गर्ने अवसर पाएका थिए। विद्यार्थीहरूले तयार पारेका राखीहरूको कलात्मकता, मौलिकता, प्रस्तुति, सामग्रीको उचित प्रयोग तथा सिर्जनशीलताका आधारमा मूल्याङ्कन गरिएको थियो।
कार्यक्रमको सफल सञ्चालन तथा समन्वय प्रिया सिंह र सुमन शाहले गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन गर्दै प्रतियोगितालाई व्यवस्थित, रोचक तथा प्रभावकारी रूपमा सम्पन्न गराएका थिए। विद्यार्थीहरूको गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि यस्ता कार्यक्रमहरू मार्फत आफ्नो बौद्धिकता विकास बढाउनमा ठूलो मद्दत पुग्ने प्रिन्सिपल श्रीवास्तवले बताएका छन्। 

प्रतियोगिताको नतिजा आगामी सोमबार, मिति २०८३/०५/०८ गते घोषणा गरिने विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि नियमित पठनपाठनसँगै यस्ता सांस्कृतिक, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ।














COMMENTS