सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीहरूले गरे पशुपतिनाथ मन्दिरको अवलोकन
बीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिप्रा स्थितमा रहेको सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीहरूले नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदा पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन्। शैक्षिक भ्रमणका क्रममा विद्यार्थीहरूले मन्दिर परिसर, त्यहाँका धार्मिक संरचना तथा ऐतिहासिक महत्वका विषयमा जानकारी लिएका थिए।
अवलोकनका क्रममा विद्यार्थीहरूलाई सनातन धर्ममा भगवान् शिवको महिमा, पशुपतिनाथ मन्दिरको धार्मिक महत्व तथा यसको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराइएको थियो। भगवान् शिवलाई सनातन धर्ममा सृष्टि, संरक्षण र संहारका प्रमुख देवताका रूपमा मानिने तथा पशुपतिनाथलाई सम्पूर्ण प्राणीका स्वामीका रूपमा पूजा गरिने विषयमा चर्चा गरिएको थियो।
विद्यार्थीहरूले मन्दिर परिसरमा रहेका विभिन्न कलात्मक संरचना, मूर्ति, घाट तथा धार्मिक गतिविधिको प्रत्यक्ष अवलोकन गरेका थिए। भ्रमणले विद्यार्थीहरूलाई नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाबारे व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले पशुपतिनाथ मन्दिरको संरक्षण, सरसफाइ तथा धार्मिक आस्थाको सम्मान गर्नुपर्ने विषयमा समेत जानकारी प्राप्त गरेका थिए। भ्रमणले विद्यार्थीहरूमा आफ्नो धर्म, संस्कृति र सम्पदाप्रति रुचि तथा जिम्मेवारीबोध बढाएको बताइएको छ।
सनसाइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोकले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले भ्रमण आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले पशुपतिनाथ मन्दिरको भ्रमणबाट विद्यार्थीहरूले सनातन धर्ममा भगवान् शिवको महिमा र नेपालको सांस्कृतिक पहिचानबारे महत्वपूर्ण ज्ञान हासिल गरेको बताउनुभयो
सञ्चालक आलोकका अनुसार यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरूको ज्ञान विस्तार गर्नुका साथै उनीहरूमा अनुशासन, सामाजिक व्यवहार र सांस्कृतिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने संचालक अमित आलोकले जनाएका छन् ।








COMMENTS