जगन्नाथपुर गाउँपालिकाले ५ लाख ५१ हजार बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने
वीरगञ्ज । पर्साको जगन्नाथपुर गाउँपालिकाले रसुवा र नुवाकोटलगायतका जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको कार्यालय जगन्नाथपुरमा बसेको गाउँ कार्यपालिकाको बैठकले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीबाट प्रभावित नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र स्वास्थ्य लाभको कामना गरिएको छ।
गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूबाट एक महिनाको सुविधा बराबरको रकम आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ। गाउँपालिकाका स्थायी कर्मचारीका हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
यस्तै, गाउँपालिकाको कार्यालयमा कार्यरत करार कर्मचारीहरूमध्ये अधिकृतस्तरको सुरु तलब स्केलको ५ दिन बराबर तथा सहायक र श्रेणीविहीन कर्मचारीहरूको ३ दिन बराबरको रकम कट्टा गरी बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ।
गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्को यस घडीमा प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको उल्लेख छ।
गाउँपालिकाले विपद्का कारण प्रभावित सबै नागरिकको शीघ्र उद्धार, राहत तथा स्वास्थ्य लाभका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।


COMMENTS