रसुवाका बाढीपीडितका लागि माउन्ट मकालु बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग सङ्कलन
वीरगञ्ज । रसुवा जिल्लामा आएको बाढीका कारण प्रभावित बनेका नागरिकको सहयोगका लागि वीरगञ्जस्थित माउन्ट मकालु बोर्डिङ स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले आर्थिक सहयोग सङ्कलन गरेका छन्।
बाढीपीडितलाई मानवीय सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारले आफ्नो क्षमता अनुसार रकम सङ्कलन गरेको प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिनुभयो।
प्रिन्सिपल श्रीवास्तवका अनुसार विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व हो। “मानवीय सहायतामा हाम्रो सानो सहयोगले पनि पीडितहरूका लागि ठूलो राहत पुग्ने अपेक्षाले आर्थिक रकम सङ्कलन गरिएको हो,” उहाँले बताउनुभयो।



विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले स्वेच्छाले सहयोग गर्दै बाढीपीडितप्रति ऐक्यबद्धता जनाएका हुन्। विद्यालयले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनाको विकास गर्ने उद्देश्यले समेत यस्ता अभियानलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
रसुवामा बाढीका कारण प्रभावित बनेका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, विद्यालय तथा नागरिकस्तरबाट सहयोग जुटाउने क्रम जारी रहेको छ। माउन्ट मकालु बोर्डिङ स्कुलको यस पहलले विपद्का बेला सहयोग र मानवीय सेवाको भावना अझ बलियो हुने विश्वास गरिएको प्रिन्सिपल श्रीवास्तवले बताएका छन्। विद्यालयको तर्फबाट गर्नुपर्ने मानवीय सहायता एवं राहत सङ्कलन गरी प्याप्सन जिल्ला कार्यसमिति र प्याप्सन महानगर को संयुक्त आयोजनामा केन्द्रित प्याप्सन कार्यालयमा बुझाउने र सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरी एक द्वार प्रणाली मार्फत सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले बताएका छन्! कार्यक्रममा माउन्ट मकालु बोर्डिङ स्कुलका voice principle रेखा जैसी कोर्डिनेटर अम्बिका केसी बीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका कर्मचारी सुरेन्द्र ठाकुर तथा शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो।


COMMENTS