नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघबीच खेलाडी समायोजन, सबैलाई एकरूप बनाउने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता
वीरगञ्ज — नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघबीच लामो समयदेखि अलग-अलग रूपमा सञ्चालन हुँदै आएको तेक्वान्दो खेललाई अब एकीकृत रूपमा अघि बढाउने पहल सुरु भएको छ। दुई संघबीच आजदेखि औपचारिक रूपमा खेलाडी समायोजन प्रक्रिया सुरु गरिएको नेपाल तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिनुभएको छ।
विगत करिब एक दशकदेखि नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ अलग-अलग रूपमा गतिविधि सञ्चालन गर्दै आएका थिए। यसका कारण खेलाडी तथा खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबीच विभिन्न प्रकारका समस्या र अन्योल सिर्जना हुँदै आएको अवस्थामा अब भने सबैलाई एउटै संरचनामा समेटेर अघि बढाउने तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको हो।
अध्यक्ष श्रेष्ठले खेलाडीहरूको हकहित, क्षमता विकास र तेक्वान्दो खेलको समग्र विकासका लागि सबै पक्ष एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले संघमा आबद्ध भएर सबै खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पक्षलाई समान अवसर र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार अब विगतका मतभेद र विभाजनलाई अन्त्य गर्दै तेक्वान्दो खेललाई व्यवस्थित, मर्यादित र थप प्रभावकारी ढंगले अघि बढाइनेछ। खेलाडीहरूको भविष्य सुरक्षित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको तेक्वान्दो क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यले समायोजन प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।
खेलाडी समायोजनसँगै तेक्वान्दो क्षेत्रमा देखिएको लामो समयदेखिको विभाजन अन्त्य हुने र खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीबीच थप एकता कायम हुने अपेक्षा गरिएको छ। समायोजन कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका मधेस प्रदेशका महासचिव राजकुमार लामा प्रशिक्षक नाजिर हुसेन सङ्घका सल्लाहकार निशान्त लामिछाने अरविन शाह कानुन नवल किशोर शाह हरिनारायण पटेल मनसुर हवारी अरुण झा बुलाल चौहान रेहाना खातुन चक्रधारी चौधरी लगायतको उपस्थिति रहेको थियो।

COMMENTS