हरिखेतान बहुमुखी क्याम्पसद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग
वीरगञ्जमा रहेको चर्चित सामुदायिक संस्था हरिखेतान बहुमुखी क्याम्पसले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।
क्याम्पसले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितको सहयोगका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। क्याम्पसका व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानका अनुसार शिक्षा क्षेत्रमा रहेको सामुदायिक क्याम्पस मध्ये बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा पहिलोपटक यति ठूलो रकम सहयोग गर्ने कलेजका रूपमा हरिखेतान बहुमुखी क्याम्पस रहेको दाबी गरिएको छ।
क्याम्पस परिसरमा आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान, कोषाध्यक्ष सुरेश प्रसाद रुङटा, क्याम्पसचिफ किशोरी राय यादव लगायत व्यवस्थापन समिति पदाधिकारी, शिक्षक–शिक्षिका तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्याम्पसको तर्फबाट ५ लाख रुपैयाँको चेक प्रधानमन्त्री राहत कोषका लागि हस्तान्तरण गरिएको थियो। उक्त सहयोगले बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास कलेजले व्यक्त गरेको छ। क्याम्पस चिफ रायले विपद्को समयमा शैक्षिक संस्थाहरूले पनि सामाजिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउँदै पीडित नागरिकको दुःखमा साथ दिन क्याम्पसतयार रहेको बताएका छन् ।
उनले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट थप सहयोग आवश्यक रहेको बताएका थिए।

COMMENTS