बारा ८ असोज । बाराको कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २३ वर्षीय अफरोज अन्सारीले १२ वर्षीया बालिकालाई ललाइफकाई तथा डरत्रास देखाएर अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्।Advertisement
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही घर भई हाल बाराको कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २३ वर्षीय अफरोज अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अन्सारीलाई बुधबार कलैया उपमहानगरपालिका–६ स्थित बजार क्षेत्रबाट पक्राउ गरिएको हो। अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका अन्सारीलाई प्रहरीले निरन्तर खोजी गरिरहेको थियो।
प्रहरीका अनुसार २०७८ माघ १० गते अन्सारीले १२ वर्षीया बालिकालाई ललाइफकाई तथा डरत्रास देखाई अपहरण गरेका थिए। अपहरणपछि बालिकालाई कलैया उपमहानगरपालिका–४ स्थित मैदामिल पछाडिको झाडीमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि अन्सारीले बालिकालाई बसमा राखेर काठमाडौंको वनस्थली पुर्याएको र त्यहाँ एउटा कोठामा बन्धक बनाएर राखेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। वनस्थलीमा समेत बालिकामाथि पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।
बालिकालाई अन्सारीले करिब १० दिनसम्म आफ्नो नियन्त्रणमा राखेको प्रहरीको विवरणमा उल्लेख छ। घटनापछि पीडित परिवारले प्रहरीमा जाहेरी दिएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले २०७८ माघ २० गते बालिकाको उद्धार गरेको थियो।
बालिकाको उद्धारपछि प्रहरीले घटनामा संलग्न अन्सारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको थियो।
मुद्दाको सुनुवाइपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले २०८२ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो। अदालतले उनलाई ६ लाख रुपैयाँ जरिवाना तिराउने तथा पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नुपर्ने आदेशसमेत दिएको थियो।
तर अदालतबाट फैसला भएपछि कैद सजाय भुक्तान गर्नुअघि नै अन्सारी फरार भएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराले अदालतको फैसला कार्यान्वयनका लागि उनको खोजी तीव्र बनाएको थियो।
प्रहरीको निरन्तर खोजीका क्रममा अन्सारीलाई बुधबार कलैया उपमहानगरपालिका–६ को बजार क्षेत्रबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेका अन्सारीलाई आवश्यक कानुनी कारबाहीका लागि बारा जिल्ला अदालत, कलैयामा पेस गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई वीरगंज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका अन्य व्यक्तिको समेत खोजी तथा फैसला कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ। पीडित बालिकाको पहिचान र गोपनीयता कानुनअनुसार सुरक्षित राखिएको छ।

COMMENTS