स्नातकोत्तर आवासीय चिकित्सकसम्बन्धी घटनाबारे नेशनल मेडिकल कलेजको तथ्यगत स्पष्टीकरण २०८२ का प्रथम वर्षका आवासीय चिकित्सकलाई IOM फर्काउन पत्राचार
वीरगञ्ज, ९ असोज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले स्नातकोत्तर आवासीय चिकित्सकसँग सम्बन्धित पछिल्लो घटनाक्रमबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणप्रति ध्यानाकर्षण भएको जनाउँदै तथ्यगत स्पष्टीकरण जारी गरेको छ।
कलेजले जारी गरेको प्रेस विज्ञप्तिमा हाल प्रथम वर्षका केही आवासीय चिकित्सकले कलेजमा औपचारिक रूपमा उपस्थित भई स्नातकोत्तर प्रशिक्षण सुरु गर्नुअघि नै कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण, विभागीय नेतृत्व तथा सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै विभिन्न आरोप तथा गुनासो उठाएको उल्लेख गरिएको छ। कलेजका अनुसार सात जना प्रथम वर्षका आवासीय चिकित्सकसँग सम्बन्धित विषयमा कानुनी तथा प्रशासनिक प्रक्रियासमेत अघि बढेको थियो।
विज्ञप्तिअनुसार गत भदौ २८ गते आवासीय चिकित्सकहरूले कलेजसमक्ष केही विषयमा लिखित रूपमा जानकारी गराएका थिए। त्यसपछि कलेज प्रशासनले सम्बन्धित चिकित्सक तथा शैक्षिक पदाधिकारीसँग छलफल गरी उठाइएका विषय सम्बोधन गर्ने प्रयास गरेको जनाएको छ। साथै, विषय समाधानका लागि Tribhuvan University तथा सम्बन्धित निकायलाई समेत औपचारिक रूपमा जानकारी गराइएको कलेजको भनाइ छ।
कलेजले त्यसपछि कुनै नयाँ लिखित आपत्ति वा थप माग औपचारिक रूपमा प्राप्त नभएको दाबी गरेको छ। तर केही समयपछि पुनः विभिन्न माध्यमबाट कलेजलाई बदनाम गर्ने तथा विवाद सिर्जना गर्ने प्रयास भएको कलेजको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिमा कलेजले प्रारम्भिक तीन विषय मात्र नभई थप माग तथा आरोपहरू सार्वजनिक माध्यमबाट उठाइएको जनाएको छ। ती विषयमा विधार्थीहरूको हैसियतमा प्रशिक्षण सुरु गर्नुअघि उत्पन्न भएका कानुनी मुद्दा फिर्ता लिनुपर्ने, ओबी/गाइनीसम्बन्धी अनुशासनात्मक विषय, आन्दोलन अवधिको तलबी बिदा तथा हाजिरी र बायोमेट्रिक हाजिरीलगायत विषय समावेश रहेको कलेजको भनाइ छ।
कलेजले गत भदौ १८ गतेदेखि आवासीय चिकित्सकहरूलाई औपचारिक रूपमा वार्ताका लागि आह्वान गरिएको र त्यसपछि लिखित रूपमा केही विषयमा माग राखिएको जनाएको छ। माग सम्बोधन गर्न कलेजले ओबी/गाइनी विषयमा तीन सदस्यीय छानबिन समिति गठन, २४ घण्टे ड्युटी तथा पोस्ट-ड्युटी प्रणाली, समयमै स्टाइपेन्ड, हाजिरी तथा बिदा प्रक्रियाको समाधान र आवश्यक विषयमा Institute of Medicine को आधिकारिक राय लिने व्यवस्था समावेश गरेको जनाएको छ।
कलेजका अनुसार लिखित प्रस्तावमा सम्बन्धित चिकित्सकहरूले हस्ताक्षर गरेपछि पनि सामूहिक गतिविधि जारी रहेकाले नियमित शैक्षिक तथा क्लिनिकल जिम्मेवारीमा फर्कन औपचारिक सूचना तथा अन्तिम अवसरसमेत प्रदान गरिएको थियो।
विज्ञप्तिमा कलेज परिसरमा केही चिकित्सकलाई दुर्व्यवहार तथा धम्की दिएको, शारीरिक रूपमा कार्यक्षेत्रबाट हटाइएको र महिला आवासीय चिकित्सकलाई ठूलो समूहले घेराउ गरेको जस्ता आरोपसमेत उल्लेख गरिएको छ। कलेजले यस्ता गतिविधिबारे सम्बन्धित विभागीय प्रमुख, पीजी कोअर्डिनेटर तथा संकाय सदस्यहरूबाट गुनासो प्राप्त भएको जनाएको छ।
कलेजले घटनाका कारण शैक्षिक अनुशासन, पेशागत व्यवहार, शिक्षक–आवासीय चिकित्सकबीचको विश्वास तथा सुरक्षित शिक्षण वातावरणमा असर परेको जनाएको छ। साथै, विषयलाई औपचारिक संवाद र संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ। साथै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जले शैक्षिक तथा क्लिनिकल प्रशिक्षणमा नफर्किएका २०८२ का प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन (IOM) मा फिर्ता पठाउन सिफारिस गरेको जनाएको छ।
कलेजका प्रशासन प्रमुख विश्वनाथ कंठद्वारा जारी पत्रमा स्नातकोत्तर शिक्षा कक्षा र परीक्षामा सीमित नभई शिक्षक–विद्यार्थी विश्वास, क्लिनिकल सुपरिवेक्षण, विभागीय अनुशासन, पेशागत सम्मान तथा आपसी सहकार्यमा आधारित हुने उल्लेख गरिएको छ। यी आधारभूत पक्ष कमजोर हुँदा प्रभावकारी स्नातकोत्तर प्रशिक्षण सञ्चालन गर्न कठिन हुने कलेजको भनाइ छ।
पत्रअनुसार कलेजले प्रारम्भिक माग समाधान, IOM लाई जानकारी, नयाँ औपचारिक माग, कलेजबाट पुनः वार्ता, लिखित समाधान प्रस्ताव तथा नियमित जिम्मेवारीमा फर्कने अवसरलगायतका प्रक्रिया अघि बढाएको थियो। तर इमर्जेन्सीमा रहेका चिकित्सक तथा समुदायमाथि परेको दबाब र व्यापक शिक्षण समुदायको औपचारिक असन्तुष्टिलाई समेत मूल्यांकन गर्दै २०८२ का प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन IOM तथा त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिएको कलेजले जनाएको छ।
कलेजले यो निर्णय कुनै व्यक्तिगत गुनासोका कारण नभई पटक–पटकको संवाद तथा समाधान प्रयासपछि पनि शिक्षण–सिकाइको वातावरण गम्भीर रूपमा कमजोर हुँदै गएको अवस्थालाई ध्यानमा राखेर गरिएको संस्थागत निर्णय भएको स्पष्ट पारेको छ।
यस विषयमा कलेजले प्रारम्भिक निवेदन, समाधान अभिलेख, IOM सँगको पत्राचार, वार्ता सूचना, लिखित प्रस्ताव, इमर्जेन्सीमा फर्केका चिकित्सकसम्बन्धी सूचना तथा आवश्यक CCTV/भिडियो प्रमाण सम्बन्धित निकाय र सञ्चारमाध्यमसमक्ष उपलब्ध गराउन सकिने भनेर नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रशासन प्रमुख विश्वनाथ कंठले प्रेस विज्ञप्ति मार्फत जनाएका छन्।

COMMENTS