जीवन ज्योति स्कुलका विद्यार्थीहरूद्वारा विज्ञान प्रदर्शनी
वीरगञ्ज, २७ असोज। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति स्कुलका कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गरेका छन्। विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता तथा प्रविधिप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।
विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष एवं एनआई कलेजका प्रिन्सिपल मनिष सिंह प्रमुख अतिथि तथा प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष एवं मनकामना माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन प्रधान विशिष्ट अतिथियमा सो कार्यक्रम सम्पन्न भएको हो
प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सामग्री र नमुनाहरू निर्माण गरी प्रस्तुत गरेका थिए। अतिथिहरूले विद्यार्थीहरूले तयार पारेका सामग्रीहरूको अवलोकन गर्दै उनीहरूको सिर्जनशीलता, मेहनत र प्रतिभाको प्रशंसा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि मनिष सिंहले विद्यार्थीहरूले आधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरेका सामग्रीहरू उत्कृष्ट र समयसापेक्ष रहेको बताए। उनले विद्यार्थीहरूको कामबाट भविष्यमा उनीहरू इन्जिनियरलगायत प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति बन्न सक्ने सम्भावना देखिएको उल्लेख गर्दै सहभागी विद्यार्थीहरूलाई धन्यवाद दिए।
आफूहरूले अध्ययन तथा अध्यापन गर्ने समयमा अहिलेको जस्तो आधुनिक प्रविधिको सुविधा उपलब्ध नभए पनि मेहनत र संघर्षका साथ अघि बढेको अनुभव सुनाउँदै सिंहले विद्यार्थीहरूलाई प्रविधिको सदुपयोग गर्दै आफ्नो प्रतिभा निखार्न आग्रह गरे।
त्यसैगरी, विशिष्ट अतिथि पुरन प्रधानले विद्यार्थीहरूको रुचि, लगनशीलता र उनीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधिसम्बन्धी सामग्री प्रशंसनीय रहेको बताए। उनले विद्यार्थीहरूलाई यस्ता सिर्जनात्मक गतिविधिमा निरन्तर सहभागी गराउनुपर्नेमा जोड दिँदै विज्ञान तथा प्रविधिप्रतिको रुचिलाई भविष्यको पेसासँग जोड्न सके नेपालको प्राविधिक क्षेत्रको विकासमा समेत योगदान पुग्ने धारणा व्यक्त गरे। विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्दा उनीहरूमा वैज्ञानिक सोच, समस्या समाधान गर्ने क्षमता तथा नयाँ कुरा आविष्कार गर्ने सीपको विकास हुने विश्वास गरिएको छ। यस्ता प्रदर्शनीले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा पहिचान गर्न र उनीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा अघि बढ्न प्रेरित गर्नेमा मदत पुग्ने धानको भनाइ रहेको छ। विज्ञान प्रदर्शनी कार्यक्रममा जीवनज्योति स्कुलका सञ्चालिका मिनाक्षी गुप्ता कामक्षगुप्त शिक्षक लालबाबु यादव कोर्डिनेटर दिपा थापा तथा अन्य शिक्षक शिक्षिका विद्यार्थीहरू तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण उज्ज्वल घिमिरेले गरेका थिए।

COMMENTS