पोखरिया नगरपालिकाको आयोजना तथा चाइना 
फाउन्डेसन र न्यु लाइफ फाउन्डेसनको सहयोगमा आज पोखरिया नगरपालिका–स्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच नगरपालिकाभित्र रहेका २५ वटै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरिएको हो। पोखरिया नगरपालिकाका शिक्षा महाशाखाका सहायक ललनकुमार पटेलका अनुसार विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै खेलकुदको माध्यमबाट उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको हो। विद्यालयस्तरबाटै विद्यार्थीहरूको खेलकुद प्रतिभा पहिचान गरी उनीहरूलाई खेल क्षेत्रमा अगाडि बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका २५ वटै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी खेलकुद सामग्री उपलब्ध गराइएको थियो। उक्त कार्यक्रम निजामुद्दिन समानीको समन्वयमा सम्पन्न भएको हो।
विद्यालयस्तरमा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीहरूमा खेलप्रतिको रुचि र उत्साह अभिवृद्धि गर्ने लक्ष्यका साथ सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। खेलकुद सामग्रीको उपलब्धताले विद्यालयमा नियमित खेलकुद गतिविधि सञ्चालन गर्न सहयोग पुग्नुका साथै विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत प्राप्त हुने अपेक्षा गरिएको छ।
नगरपालिकाले शैक्षिक गतिविधिसँगै खेलकुदलाई पनि प्राथमिकता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा अघि बढ्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ
COMMENTS